सेन्ट्रल जेलबाट भागेका टोपबहादुर फर्किए डिल्लीबजार कारागार
काठमाडौं, ७ असाेज । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भदौ २४ गते भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेसंगै रायमाझी डिल्लीबजार कारागारमा सम्पर्कमा आएका हुन् ।
उनले आफू काठमाडौंभित्रै रहेको, तर सेन्ट्रल जेलमा बस्ने वातावरण नभएका कारण उक्त कारागारमा बस्न इच्छा गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।
सेन्ट्रल जेलका थुप्रै कैदी बन्दी अन्यत्र कारागारमा फर्किएका छन् । त्यहाँबाट भागेका ३३ सयमा कैदी बन्दीमध्ये एक हजारको हाराहारीमा मात्रै फर्किएको र करिब सयको हाराहारीका कैदीबन्दी देशका विभिन्न जिल्लाका कारागारमा गएको सेन्ट्रल जेलका प्रशासक कृष्णप्रसाद चापागाइँले बताए ।