मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय, सरकार निर्वाचन गर्ने मनस्थितिमा नरहेको निष्कर्ष

काठमाडौं,२६ असोज । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बासस्थान रहेको गुण्डुमा बसेको सचिवालय बैठक सम्पनन भएको हो । बैठकले आफ्नो पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता सम्पन्न गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

उहाँका अनुसार स्थान र मितिको टुंगो भने लागेको छैन । स्थान र मिति केन्द्रीय कमिटी बैठकले टुङ्गो लगाउने छ । एमालेको यहि असोज २९,३० र ३१ गते केन्द्रीय कमिटी बैठक हुँदैछ । सचिवालय बैठकले यी एजेन्डा बैठकमा लैजाने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको पनि बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा प्रहरी चौकी लुट्नेहरूलाई कारबाही नगरेको, जेलबाट भागेका कैदीहरू बाहिर रहेको र चौकीहरू पुनस्थापना नभएको भन्दै चुनावी वातावरण नबनेको निष्कर्ष निकालेको छ । ‘यस्तो अवस्थामा कसरी चुनाव हुनसक्छ ?,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीको बैठक २९, ३० र ३१ गते बस्दैछ । त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुन्छन् । दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

उपमहासचिव ज्ञवालीका अनुसार संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय पनि एमालेले गरेको छ ।