एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली टेबल टेनिस खेलाडीहरूलाई सम्मान
काठमाडौँ, २७ असोज । डब्ल्यूटिटि युथ कन्टेन्डर पर्थ २०२५ मा सहभागिताका लागि अष्ट्रेलियाको पर्थ आएका नेपाली टेबल टेनिस टोलीका सदस्यलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाले सोमबार सम्मान गरेको छ ।
डब्ल्यूटिटि युथ कन्टेन्डर पर्थ २०२५ अक्टोबर ८ देखि ११ तारिखसम्म भएको थियो । एनआरएनए वेस्टर्न अस्ट्रेलियाले सो प्रतियोगितामा खेल्ने आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षक राकेश महर्जन तथा टोली व्यवस्थाक अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनलाई विशेष कार्यक्रममा सम्मान गरेको हो ।
एनआरएनए वेस्टर्न अस्ट्रेलियाका स्टेट कोर्डिनेटर हरिवंश सञ्जेल, नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका पूर्व अध्यक्ष आङदावा शेर्पा तथा नेपालका पूर्व राष्ट्रिय टेबलटेनिस च्याम्पियन अजय सुवालले नेपाली खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सम्मान गरे ।
सम्मानित नेपाली टेबलटेनिस टोलीले अब अक्टोबर १४ देखि १८ तारिखसम्म थाइल्यान्डको थोनबुरी युनिभर्सिटी बैंककमा हुने टेबल टेनिस प्रशिक्षण शिविरमा सहभागिता जनाउनेछ ।