बढ्दो क्रममा आन्तरिक पर्यटन

‘प्रकृति’ र ‘संस्कृति’को अद्वितीय संगम स्थल मौरिस हर्जोग पदमार्ग

काठमाडौँ, असोज ३ । ‘प्रकृति’ र ‘संस्कृति’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ बनेको छ । दसैँ-तिहारको लामो बिदामा अन्नपूर्ण आधार शिविर र यस पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पोखराकी २५ वर्षीया दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता ‘जेनजी’ उमेर समूहका युवायुवती अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका प्रतिनिधि पात्र हुन् ।

दसैँलगत्तै मौसममा सुधार आएसँगै मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक आउने गरेको र तिनीहरूमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेको पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताउनुभयो । “सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट भिडियो, फोटो हेरेर आउनेहरू धेरै छन्,” उहाँले भन्नुभयो, “अपेक्षाभन्दा बढी पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।”

विदेशी पर्यटकको तुलनामा प्रौढ र पाका उमेरका पदयात्री कमै भेटिन्छन्। दश जोड दुई र क्याम्पस तहमा अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाएको देखिन्छ। सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेका तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताउनुभयो। “हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,” उहाँले भन्नुभयो, “हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘ट्रेन्ड’ बढेको छ ।”

पर्वतको जलजला गाउँपालिका-४ का सन्दर्भ आचार्यका अनुसार सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहन्छन् । छोटो दूरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरूको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले ‘जेनजी’हरूको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग परेको उहाँको भनाइ छ ।

कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरनाहरू छन् । आकाशे गुफा लगायतका अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरल लगायतका वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाउनुभयो ।

समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ। निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ। कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामायणमा उल्लेख छ।

सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरूको शालिक र आरोहीहरूको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि वि. सं. २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए। हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०/५० जना क्षमताको होटल सुरु गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ। भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताउनुभयो। “एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,” उहाँले भन्नुभयो, “पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।”

होटलमा काम गर्नेदेखि भरियाको रूपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन्। यसअघि वसन्तयाममा आरोही र स्थानीयहरू मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन्। विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरूले अनुरोध गरेका छन्। पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ। फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्कनुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पु¥याउन र सरसफाइमा ध्यान दिन जरुरी छ। यसका लागि म सक्दो सहयोग गर्दछु ।”

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ ।