बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती, ९ कात्तिक । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ। प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ।
प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो। राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उहाँसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ। सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उहाँले बताउनुभयो।
प्रदेशसभाको सभाहल ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ।
तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो। ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।