देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,१० कात्तिक । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिनसम्म नेपालको मौसम प्रभावित हुने विभागले जनाएको हाे ।

विभागद्वारा जारी बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ । यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । बुलेटिनमा उल्लेख भएअनुसार, एक-दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।