हिमपातमा फसेका ७५० जनाको उद्धार, ५० जना सुरक्षित स्थानमा

मनाङ, ११ कात्तिक । कात्तिक ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरूमा परेको बाक्लो हिउँका कारण फसेका व्यक्तिहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गरेको छ ।

संयुक्त टोलीले मनाङको तिलिचो बेस क्याम्पबाट ७५० जनालाई डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित रूपमा ल्याएको छ । यस्तै, ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको छ ।
मनाङ घुम्न गएका पर्यटकहरूका लागि खाङसारमा बस्ने र खानाको पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरूलाई सुरक्षित रूपमा फर्कने व्यवस्था मिलाइएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासि लेक लागी बेहोस भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।

मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई उच्च भूभाग खोज तथा उद्धार तालिमसमेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरूको उद्धारमा सहजता भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *