कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, महाधिवेशन मुख्य एजेन्डा
 
                              काठमाडौँ, १३ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्दैछ ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस बैठकमा यसअघि भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछिको विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाबारे छलफल भएको थियो ।
आजको बैठकमा भने पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुनेछ । सभापति शेरबहादुर देउवा नेतृत्वको हालको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा सुरुदेखि नै चर्चा चलिरहेको छ ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका थिए । उक्त अभियानका क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।
यसअघि असोज २८ गते सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उहाँकै सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			