निरन्तर हिमपातका कारण अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार, हिडन भ्यालीमा फसेकाको पनि उद्धार जारी
म्याग्दी, १३ कात्तिक । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकहरूलाई सुरक्षाकर्मीको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।
म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङतर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरू सोमबार रातीदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना सशस्त्र प्रहरी, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो ।
गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशीसहित ७२ जना पर्यटकहरूलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनीहरू सकुशल रहेको जानकारी दिनुभयो ।
“हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ,” उहाँले भन्नुभयो “उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।”
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरूलाई सकुशल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारी दिनुभयो । वर्षा, हिमपात र मौसम खराब भएपछि समुन्द्री सतहदेखि चार हजार एक सय ९० मिटर उचाइको आधार शिविर भ्रमणमा गएका पर्यटकहरू बास बसेकै ठाउँमा रोकिएका थिए ।
हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरू सुरक्षाकर्मीको सहायतामा फर्किएका छन् । मङ्गलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुनः हिउँ पर्न थालेको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबारदेखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताउनुभयो ।
खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाँडा लगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन् ।
यसैगरी म्याग्दीको धवलागिरि–४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि पाँच हजार एक सय मिटर उचाइको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रदर्शक तथा मजदुरहरूको उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
जोमसोमदेखि बुधबार गएको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको तालिमप्राप्त सुरक्षाकर्मीहरूको टोली बिहीबार बिहान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित मार्फाको आलुबारी पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले बताउनुभयो ।