कान्तिलोकपथ सञ्चालन, कुलेखानी–दक्षिकाली सडक अझै अवरुद्ध

काठमाडाैं, १६ कात्तिक । सडकमाथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा बिहान ६ बजेदेखि ठूला ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा खसेका ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

यसैबीच, हेटौँडा–काठमाडौँ जोड्ने अर्को मुख्य मार्ग हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक भने अझै सञ्चालनमा आउन सकेको छैन ।

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार साँझदेखि पहिरो खस्दा यो सडक अवरुद्ध भएको हो ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउने काम भइरहे तापनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।