गत विजेता कर्णाली फाइनलमा
काठमाडौँ, कात्तिक २६ गते । दोस्रो एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा उपाधि रक्षा अभियानमा रहेको कर्णाली यश्विज बुधबार मधेश युनाइटेडलाई ती २५–१५, २५–१२, २५–१७ ले हराएर फाइनलमा पुगेको छ । सो खेलमा कणालीकी साफिया पुन उत्कृष्ट खेलाडी घोषित भइन् ।
दोस्रो खेलमा पोखरा निन्जाजले ललितपुर क्विन्सलाई २५–२२, २५–१३ र २५–२० ले सहजै पराजित गर्यो । पोखराको यो पहिलो जित हो । यसअघि, पोखराले तीन खेलमा हार वेहोरेको थियो । सुरुका तीन खेल जितेको लालितपुरको अपराजित यात्रामा भने पूर्णविराम लागेको हो । फाइनलमा पुगेको कर्णालीले सुरुका चारै खेल जितेको छ ।
यो प्रतियोगिता करीब एक महिनापछि सुचारु भएको हो । यसअघि, गत भदौमा पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा यस प्रतियोगिताका केही खेल भएका थिए । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले प्रतियोगिता स्थगित भएको हो ।