पर्वतको देउपुरमा सुन्तलाखेती संकटमा, किसान वैकल्पिक खेतीमा आकर्षित

पर्वत, ३० कात्तिक। सुन्तलाखेतीका लागि ‘पकेट’ क्षेत्रका रूपमा परिचित पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेका छन्। पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असर, तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणका कारण सुन्तलाका बोटहरू मर्दै जान थालेपछि किसानहरू चिन्तित बनेका छन्।

धान, कोदो, मकैजस्ता परम्परागत बालीहरू छाडेर सुन्तला खेतीमा लागेका देउपुरका किसानहरू अहिले वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका छन्।

कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे आम्दानी गर्ने ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन्। उनको सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ। जैसीले अहिले मौरीपालन र अदुवा, बेसारखेती गर्दै आएका छन्। काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम पत्ता लागेपछि उनले सुन्तलाखेती छाडेको बताए।

सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी स्थानीय डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवा खेती लगाएकी छिन्। घरअगाडिको बगैँचाका सबै सुन्तलाका बोट मरेपछि ती दाउरामा परिणत भएका छन्। लामो समयदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसानहरू यसरी विस्थापित बन्दै गएको स्थानीय दाताराम चापागाईंले जानकारी दिए।

विगतमा वार्षिक रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री हुने यस गाउँमा अहिले मुस्किलले रु दुई करोडसम्म मात्र भित्रिने चापागाईंको अनुमान छ। लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसानहरू चिन्तित बनेको उनले बताए।

मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाका अनुसार देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने देखिएको छ। ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ले त्यहाँका बगैँचा सखाप पारेको भन्दै उनले वैकल्पिक खेती गर्नुको विकल्प नरहेको स्पष्ट पारिन्।
यस रोगका कारण पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिने, फल सानो र बाङ्गो हुने, स्वादमा गुणस्तर घट्ने र बीउ असमान बन्दै जाने समस्या देखापर्ने तिमिल्सिनाले बताइन्। क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यस रोगको मुख्य समस्या हो।

सङ्क्रमित रुख तुरुन्त उखेलेर नष्ट गर्ने र त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प भएको उनको सुझाव छ। कृषि शाखा प्रमुख तिमिल्सिनाले देउपुरमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिएकी छिन्।

देउपुरमा झण्डै १५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए। सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *