गाजा शान्ति योजना प्रस्तावबारे मतदान अघि प्यालेष्टिनी राज्यको विरोधलाई जोड दिइने
काठमाडौँ, कार्तिक ३० । गाजामा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी भइरहँदा इजरायली नेताहरूले प्यालेस्टाइन राज्यको स्थापनाको कडा विरोध गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उहाँको सरकारका सदस्यहरूले अमेरिकी समर्थनमा आएको गाजा शान्ति योजनासम्बन्धी प्रस्तावमा सोमबार मतदान हुनुअघि नै आफ्नो अडान स्पष्ट पारेका हुन् । यस प्रस्तावमा अन्तरिम प्रशासन र अस्थायी अन्तर्राष्ट्रिय सुरक्षा बलका लागि सुरक्षा परिषद्को समर्थन खोजिएको छ ।
यसअघिका मस्यौदाभन्दा फरक, हालको प्रस्तावमा सम्भावित भविष्यको प्यालेस्टाइन राज्यको उल्लेख गरिएको छ, जसको इजरायली सरकारले तीव्र रूपमा विरोध गर्दै आएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भन्नुभयो, “कुनै पनि क्षेत्रमा प्यालेस्टिनी राष्ट्रको विरोध परिवर्तन भएको छैन ।”
नेतन्याहूमाथि उग्र दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचसहित गठबन्धनका सदस्यहरूले प्यालेस्टाइन राज्यको मान्यतासम्बन्धी पश्चिमा देशहरूको हालैको लहरमा प्रतिक्रिया दिन नसकेको आरोप लगाएका थिए ।
स्मोट्रिचले नेतन्याहूसँग आग्रह गर्दै भन्नुभयो, “तत्काल एक उचित र निर्णायक प्रतिक्रिया तयार गर्नुहोस् जसले सम्पूर्ण विश्वलाई यो स्पष्ट पार्नेछ – कुनै पनि प्यालेस्टाइन राज्य हाम्रो मातृभूमिमा कहिल्यै उत्पन्न हुनेछैन ।” प्रधानमन्त्रीले आइतबार ‘कसैको पुष्टि, ट्वीट वा व्याख्यानको आवश्यकता नभएको’ बताउनुभएको थियो । अन्य मन्त्रीहरूले पनि प्यालेस्टाइन राज्यको धारणाको विरोध व्यक्त गरे, यद्यपि कसैले पनि प्रस्तावलाई स्पष्ट रूपमा उल्लेख गरेनन् । रक्षामन्त्री इजरायली काट्जले आइतबार लेख्नुभयो, “इजरायलको नीति स्पष्ट छः कुनै पनि प्यालेस्टाइन राज्य स्थापना हुँदैन ।”
विदेशमन्त्री गिदोन सारले पनि एक्समा भन्नुभयो, देश ‘इजरायलको भूमिको मुटुमा प्यालेस्टाइनी आतंकवादी राज्य स्थापना गर्न सहमत हुनेछैन ।’ अति दक्षिणपन्थी नेता तथा राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिरले प्यालेस्टाइनी पहिचानलाई अस्वीकार गर्नुभयो । सुरक्षा परिषद्को प्रस्तावले गत महिना भएको अमेरिका समर्थित सम्झौताको दोस्रो चरणलाई प्रभावकारी रूपमा अगाडि बढाउनेछ, जसले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणबाट सुरु भएको दुई वर्षको युद्धपछि युद्धविराम ल्याएको थियो ।
पहिलो चरणमा अन्तिम २० जीवित इजरायली बन्धकहरू र प्यालेस्टिनी लडाकुद्वारा बन्धक बनाइएका २८ मारिएका लगभग सबैलाई रिहा गरिएको छ ।
बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरेको छ र ३३० शव फिर्ता गरेको छ ।
