पशुपतिनाथमा मणि मुकुटसहितका प्राचीन सामग्री प्रदर्शन गरिँदै

काठमाडौँ, २ मङ्सिर । आराध्यदेव पशुपतिनाथ मन्दिरमा रहेको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायतका प्राचीन एवं बहुमूल्य सामग्री सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन परम्पराअनुसार यी सामग्री देखाउने प्रचलनलाई निरन्तरता दिन लागेको हो।

यही परम्पराअनुसार आज (शनिबार) बिहान १०:०० बजेदेखि ११:३० बजेसम्म सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायतका प्राचीन महत्वका गरगहना प्रदर्शन गरिने कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो।

त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९:०० बजेदेखि ११:४५ बजेसम्म पनि यी बहुमूल्य सामग्री प्रदर्शन गरिने जोशीले बताउनुभयो। मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्षका लागि सुरक्षित राखिने सन्देश दिन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहिआएको कोषले जनाएको छ।