एमसीसीअन्तर्गत अमेरिकाद्वारा थप ५ करोड डलर अनुदान घोषणा, कुल रकम १ खर्ब ६ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं, ३ मङ्सिर । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अमेरिकाले नेपाललाई थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

यो थप घोषणासँगै एमसीसी सम्झौताअन्तर्गत उपलब्ध हुने कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । यसमध्ये अमेरिकाको योगदान ५५ करोड डलर र नेपाल सरकारको योगदान १९ करोड ७० लाख डलर रहनेछ ।

दूतावासका अनुसार, यो थप स्रोतले सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत पुर्‍याउनेछ । यसले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीलाई सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिमा सहयोग पुर्‍याउनेछ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार ल्याई यो सम्झौताले अन्तर्राष्ट्रिय “कनेक्टिभिटी” मा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता र असल अभ्यासहरूको प्रवर्द्धन गर्नेछ । यस सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरू पनि विस्तार गर्ने दूतावासले जनाएको छ ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीचको चिरस्थायी साझेदारीलाई प्रतिबिम्बित गर्ने दूतावासले बताएको छ । दूतावासले भनेको छ, “दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।”