कोरला नाकामा व्यापारिक चहलपहल बढ्दा माथिल्लो मुस्ताङी बेँसी झर्न छोडे

मुस्ताङ, १२ मङ्सिर । विगतका वर्षहरूमा हिउँद सुरु हुनुअगावै माथिल्लो मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न र घुम्ती व्यापारका लागि बेँसी झर्ने गर्थे। तर, यस वर्ष नेपाल-चीन कोरला नाकामा बढेको व्यापारिक चहलपहलका कारण सयौँ वर्षदेखिको यो परम्परामा परिवर्तन आएको छ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका धेरै नागरिक यसपालि हिउँदमा पनि माथिल्लो मुस्ताङमै बस्न थालेका छन्। पहिले हिउँदमा अत्यधिक चिसो, हिमपात र दैनिक जनजीवन कष्टकर हुने भएकाले माथिल्लो मुस्ताङ लगभग मानवविहीन हुन्थ्यो।

खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाइ कुलोसमेत बरफ बनेर जम्ने गर्थ्यो। यसले गर्दा शैक्षिक संस्थाहरू पनि विद्यार्थीहरूसँगै बेँसी झर्थे। यस वर्ष पनि सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन्। तर, कोरला नाका गत भदौ ३० गते पूर्ण रूपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारीको ढोका खुलेको छ। बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाका नेपाल-चीन व्यापारको मुख्य मार्ग बनेको छ। मुस्ताङ भन्सार कार्यालयले यस नाकाबाट झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ।

लोमान्थाङ-२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार, कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि धेरैजसो नागरिकले व्यापार व्यवसायका साथै अस्थायी रोजगारी पाएका छन्। गत वर्ष ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्ष आंशिक नागरिक मात्र बेँसी झरेको उहाँको भनाइ छ। कोरला नाकाको नेपाल-चीन दशगजा क्षेत्रमा करिब तीन दर्जनभन्दा बढी माथिल्लो मुस्ताङीले त्रिपालको टहरा बनाई व्यापार गरिरहेका छन्।

वडाध्यक्ष गुरुङका अनुसार, कोरला नाका र चीनको हाटबजारमा व्यापार गर्ने, मालवस्तु लोडिङ-अनलोडिङ गर्ने र चीनबाट आयात गरिएका विद्युतीय कार (ईभी) ढुवानी गर्ने काममा स्थानीय युवाहरूले राम्रो रोजगारी पाएका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गरिरहेका छन्। नाकाभित्र र बाहिर गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्।

दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, कोरला नाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन्। गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक बेँसी झर्ने गरेकामा यस वर्ष लोमान्थाङबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्डबाट ५० प्रतिशत नागरिक मात्र बेँसी झरेका छन्।

कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम-कोरला सडकमार्गमा रहेका होटलहरू पनि यथाअवस्थामा खुलेका छन् भने लोमान्थाङ बजारका सबै होटल सञ्चालनमा रहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार, माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण दैनिक जनजीवन कष्टकर भए पनि स्थानीयहरू नाकाको व्यापारबाट लाभ लिँदै यही बस्ने मनस्थितिमा छन्।

यसैबीच, नेपाल-चीन कोरला नाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सयभन्दा बढी कन्टेनर लोडअनलोडको प्रतीक्षामा रहेको भन्सार कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो। चिनियाँ भन्सार, कोरला नाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधनहरू भन्सार जाँचपासका लागि लामबद्ध रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *