फुटबल विजेतालाई नगदको सट्टा १३१ किलो अलैँची पुरस्कार
काठमाडौँ, मंसिर १२ । ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि गणेशचोक क्लबले जितेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजकले विजेता टोलीलाई नगदको सट्टा १३१ किलोग्राम अलैँची पुरस्कार स्वरूप प्रदान गरेको छ ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिद्वारा आयोजित प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै गणेशचोक क्लबले उपाधि चुमेको हो ।
आयोजक समितिका अध्यक्ष विजय साँवाका अनुसार विजेता गणेशचोक क्लबले ३ लाख २ हजार ८२ रुपियाँ बराबरको ३ मन ११ किलोग्राम (१३१ केजी) अलैँची प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङको स्थानीय बजारमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९२ हजार रुपियाँ कायम रहेको थियो । सोही बजार मूल्यका आधारमा तोकिएको नगद राशि बराबरको अलैँची तौलिएर ट्रफी, मेडल र प्रमाणपत्रसहित हस्तान्तरण गरिएको हो ।
त्यस्तै, उपविजेता बनेको तोक्पेगोला युथ क्लबलाई १ लाख ५० हजार ८२ रुपियाँ बराबरको करिब ६५ किलोग्राम अलैँची प्रदान गरिएको छ । उपविजेता टोलीले अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष साँवाले जानकारी दिनुभयो।