एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने दौडमा, यूएईसँग फाइनल भिडन्त

 

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्ने लक्ष्यसहित आयोजक यूएईविरुद्ध आज नेपाल मैदान उत्रँदैछ।

फाइनल खेल आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा सुरु हुनेछ। सेमिफाइनलमा मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल उपाधिको नजिक पुगेको हो। आयोजक यूएईले भने ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको छ।

नेपाल र यूएई दुवै टोलीले एशिया कप खेल्न पाउने निश्चित भइसकेको छ। प्रतियोगिताको नियमअनुसार फाइनलमा पुग्ने दुवै टोलीले स्वतः एशिया कपको लागि छनोट हासिल गर्ने व्यवस्था छ।

सेमिफाइनलमा पराजित भएका मलेसिया र ओमानबीच तेस्रो स्थानका लागि आज नै खेल हुनेछ। विजेता टोलीले पनि एशिया कपमा स्थान पक्का गर्नेछ।

यस प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एशिया कप आगामी डिसेम्बर महिनामा यूएईमै आयोजना हुने तय भएको छ।