मधेस सरकारलाई सर्वोच्चले दिएको परमादेशप्रति ओलीको कटाक्ष, कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला

काठमाडौँ, १६ मङ्सिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको एक फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । एमाले मुख्यालयमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको आदेशप्रति उहाँको असन्तुष्टि हो । सर्वोच्चले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि असन्तुष्ट बन्नु भएका ओलीले आज एक कार्यक्रममा अदालतप्रति सम्मान भए पनि सर्वोच्चले समेत पार्टी र समूह हेरेर फैसला गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ । हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला,’ उहाँले भन्नुभयो, ‘सर्वोच्चले २४ घण्टाभित्र लिनू भन्छ । म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधानविपरीत आदेश दिन्छ ।’