सेयर बजारमा निरन्तर चौथो दिन गिरावट, नेप्से १६ अङ्कले घट्दा कारोबार रकम ३ अर्ब ३८ करोडमा सीमित

काठमाडौँ, १४ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार लगातार चौथो कारोबार दिन पनि घटेको छ। आज नेप्से परिसूचक १६.२९ अङ्कले घटेर २,६७२ विन्दुमा अडिएको छ।

यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार ओरालो लागिरहेको छ। गत शुक्रबार २,७३४ विन्दुमा रहेको नेप्से परिसूचक चार दिनको कारोबारमा कुल ६२ अङ्कले घटेको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि ह्रास आएको छ। बुधबार रु ४ अर्ब २ करोडको सेयर कारोबार भएको बजारमा आज रु ३ अर्ब ३८ करोडको मात्र कारोबार भएको छ। आज सबै उपसमूहका सूचकहरू घटेका छन्। तीमध्ये विकास बैंक उपसमूह १.१२ प्रतिशत र जलविद्युत् उपसमूह १.२० प्रतिशतले ओरालो लागेका छन्।

यस्तै बैंकिङ ०.३३, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ र व्यापार उपसमूह ०.४२ प्रतिशतले घटेका छन्। आज नयाँ कम्पनी एभरेष्ट कलर लिमिटेडको मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता रु १,१३८ पुगेको छ। यस्तै सेन्ट्रल फाइनान्सको २.८८, शुभम् पावरको २.१५ र तारागाउँ रिजेन्सीको २.०१ प्रतिशतले मूल्य बढेको छ।

यता, कालिन्चोक हाइड्रोपावरको मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६८, सोलु हाइड्रोपावरको ३.८२ र रिजलाइन इनर्जीको मूल्य ३.४७ प्रतिशतले ओरालो लागेको छ। कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *