सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी

सिरहा, १४ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रहरूमा बिहीबार दिउँसो २:०० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी गरिएको कर्फ्यु आदेश अर्को सूचना नभएसम्मका लागि कायम रहने प्रशासनले जनाएको छ।

प्रशासनद्वारा जारी सूचनाअनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्यु लगाइएको छ।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा आन्दोलन वा हुलदङ्गा भई सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय प्रशासन ऐनबमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।