सिरहामा कर्फ्यु उल्लङ्घन गर्दै तोडफोड र आगजनी, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार, ११ मोटरसाइकल नष्ट

सिरहा, १४ साउन । सिरहामा दुई पक्षबीच भएको झडपपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। झडप र प्रहरी कारबाहीका क्रममा दुई जना घाइते भएका छन्।

छिमेकी जिल्ला सुनसरीमा भएको दुई समुदायबीचको झडपको असर अन्य जिल्लाहरूमा पनि देखिन थालेको छ। सिरहाको गोलबजार क्षेत्रमा स्थिति अशान्त बनेपछि स्थानीय प्रशासनले बिहीबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनकारीहरू प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो। घाइते दुवै जनालाई तत्काल उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको छ।

प्रदर्शनका क्रममा आक्रोशित भीडले स्थानीय एक मोटरसाइकल ग्यारेजमा रहेका सवारीसाधनहरू निकालेर सडकमै आगजनी गरेका थिए। आगजनीका कारण ग्यारेजमा रहेका ११ वटा मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। थप हिंसा र तोडफोड हुन नदिन गोलबजार क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।