प्रतिनिधि सभामा सुनसरी घटनामा सामाजिक सद्भाव कायम राख्न र बाढीपीडितको उद्धार गर्न सांसदहरूको माग
काठमाडौँ, १४ साउन । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले सुनसरीको कप्तानगन्ज झडप, वीरगञ्जको नारायणी अस्पताल घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोका पीडितको राहत तथा उद्धारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सामाजिक सद्भाव र एकताका माध्यमबाट सुनसरी घटनाको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। सांसद समिना मियाँ, रेखाकुमारी यादव, प्रमिलाकुमारी गच्छदार र बलावती शर्माले देवानगन्ज र कप्तानगन्जको घटनामा नागरिकको जिउधनको सुरक्षालाई पहिलो प्राथमिकता दिन सरकारसँग माग गर्नुभयो।
यसैगरी, सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना दुःखद भएको उल्लेख गर्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो। सांसद नीता घतानीले माइतीघर मण्डलामा धर्ना बस्दै आएकी दीपा नेपालीका मागहरू पूरा गर्न सरकारसँग आग्रह गर्नुभयो।
पाँचथरमा बाढी पहिरोले पुर्याएको क्षतिबारे बोल्दै सांसदहरू भूमिका लिम्बू सुब्बा र नरेन्द्रकुमार केरुङले प्रभावितहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको माग गर्नुभयो। उहाँहरूले बाढीले पक्की पुल बगाएकाले तत्कालका लागि बेलिब्रिज जडान गर्न आग्रह गर्नुभयो। यस्तै, सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मा पहिरो जाँदा २०० परिवार खानेपानीबाट वञ्चित भएको र अलैँची खेती नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।