अस्ट्रेलियाको सामाजिक सञ्जाल प्रतिबन्धमा युट्युबको कडा आलोचना

एजेन्सी, १७ मङ्सिर । युट्युबले अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लागू गरिने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गरेको छ। युट्युबले यस निर्णयलाई ‘छिटो निर्णय गरिएको’ र यसले बालबालिकालाई अनलाइनमा अझ कम सुरक्षित बनाउने बताएको छ।

अस्ट्रेलियाले आगामी डिसेम्बर १० देखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ। युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भन्नुभयो, “यो कानुनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन। बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ।”

युट्युबका अनुसार, डिसेम्बर १० देखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन्। यी प्रयोगकर्ताहरूले खाता बिना वेबसाइट हेर्न सक्ने भए तापनि ‘सुरक्षा फिल्टर’ जस्ता धेरै सुविधा गुमाउनेछन्। युट्युबले डिजिटल संसारमा बालबालिकालाई सुरक्षित राख्ने विश्वास व्यक्त गरेको छ र खाताहरू सुरक्षित राख्ने तथा प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ, जसले पहिलेका डाटा हटाउने छैन।

अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचनालाई ‘असामान्य’ भन्दै जवाफ दिनुभएको छ, “यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ।”

विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझिरहेका नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्नेमा चासो राखिरहेका छन्। अस्ट्रेलियन सरकारले प्रतिबन्ध सुरुमा पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेराबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ। तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा उनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ।

मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ। यद्यपि, डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *