झापामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई मतदानस्थल सारियो
झापा, १७ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै झापाका दुई मतदानस्थल असहज परिस्थितिका कारण सारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्रहरू नगर अस्पतालमा परिणत भई बिरामीको चाप बढेकाले अर्को स्थानमा सारिएको बताउनुभयो। उहाँका अनुसार, मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका–३ मा रहेको बिर्तामोड स्वास्थ्य केन्द्रका मतदानस्थल सारिएका हुन्। यी दुवै स्वास्थ्य कार्यालय हाल नगर अस्पतालमा स्तरोन्नति भएका छन्।
“नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छ,” प्रमुख नेपालले भन्नुभयो, “चुनावका बेला तीन-चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ, यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो।” धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालयमा र बिर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङ्गशालामा सारिएको उहाँले जानकारी दिनुभयो।
जिल्लामा विगतमा रहेका २८५ मतदानस्थल नै कायम रहनेछन्। यद्यपि, जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्रहरू थपिनेछन्। प्रमुख नेपालका अनुसार, एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् र आगामी प्रतिनिधिसभा निर्वाचनमा ८०० भन्दा बढी मतदान केन्द्र थपिने अनुमान छ। झापामा नयाँ थपिएका मतदातासहित कुल मतदाता सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ।