भेनेजुएलामाथि अमेरिकी कडा निगरानी : भेनेजुएलाको कडा आपत्ति
काठमाडौँ, मंसिर १८ । संयुक्त राज्य अमेरिकाले क्यारिबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोमा अत्याधुनिक राडार प्रणाली जडान गरी छिमेकी मुलुक भेनेजुएलामाथि निगरानी कडा पारेको छ । ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद-बिसेसरले बुधबार औपचारिक जानकारी दिँदै अमेरिकी सहयोगमा जडान गरिएको उक्त राडारको मुख्य उद्देश्य लागुऔषध नियन्त्रण र अमेरिकी प्रतिबन्ध छलेर हुने भेनेजुएलाको कच्चा तेलको अवैध ओसारपसार रोक्नु रहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टनले भेनेजुएलाको निकोलस मदुरो नेतृत्वको सरकारमाथि कूटनीतिक र आर्थिक दबाब थप बढाएको छ। प्रधानमन्त्री पर्साद-बिसेसर (जसलाई ट्रम्प प्रशासनको निकट सहयोगी मानिन्छ) ले नोभेम्बर २७ मा एक टेलिभिजन सम्बोधनमार्फत नयाँ विमानस्थलमा राडार जडान गरिएको पुष्टि गर्नुभएको थियो ।
बुधबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीले भन्नुभयो, “यो राडार प्रणालीले भेनेजुएलाबाट हाम्रो भूमिभित्र प्रवेश गर्ने लागुऔषध, हातहतियार, गोलाबारुद र अवैध आप्रवासीको घुसपैठ रोक्न मात्र नभई, प्रतिबन्धको उल्लङ्घन गर्दै हुने कच्चा तेलको तस्करी पहिचान गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” ट्रम्प प्रशासनले सन् २०१९ देखि नै भेनेजुएलाको तेल निर्यातमाथि कडा प्रतिबन्ध लगाएको छ, जसलाई अहिले थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको छ ।
भेनेजुएलाको तटीय क्षेत्रबाट नजिकै रहेको ट्रिनिडाड एन्ड टोबागोसँग अमेरिकाको बढ्दो सैन्य सहकार्यप्रति भेनेजुएलाको मदुरो प्रशासनले कडा आपत्ति जनाएको छ । काराकासले यसलाई आफ्नो मुलुकविरुद्धको ‘आक्रामक सङ्केत’ र सार्वभौमसत्तामाथिको प्रहार भनेको छ ।
विशेषगरी, अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहितको सैन्य अभ्यासलाई भेनेजुएलाले ‘उक्साहटमूलक’ कदमको संज्ञा दिएको छ । मदुरो सरकारलाई अपदस्थ गर्न ट्रिनिडाडको भूभाग प्रयोग गरी अमेरिकाले सैन्य हस्तक्षेपको तयारी गरिरहेको आरोप काराकासले लगाएको छ । यद्यपि, प्रधानमन्त्री पर्साद-बिसेसरले भने आफ्नो देश कुनै पनि विदेशी सैन्य हस्तक्षेपको प्लेटफर्म नबन्ने प्रस्ट पार्नुभएको छ । उहाँले नयाँ उपकरणले देशको हवाई र समुद्री सुरक्षा क्षमतालाई अभूतपूर्व उचाइमा पुर्याएको दाबी गर्नुभयो ।
वासिङ्टनले गत अगस्टदेखि क्यारिबियन क्षेत्रमा विश्वकै ठूलो विमानवाहक युद्धपोतसहितको विशाल नौसैनिक बेडा तैनाथ गरेको छ । ‘लागुऔषध तस्करीविरुद्धको अभियान’ नाम दिइएको यस तैनाथीका क्रममा भएका कम्तीमा २२ वटा समुद्री कारबाहीमा ८३ जनाको मृत्यु भइसकेको छ ।
अन्तर्राष्ट्रिय कानुनी विज्ञहरूले भने लागुऔषध नियन्त्रणका नाममा भएका यी कारबाहीहरूमा अत्यधिक बल प्रयोग भएको र ती घटना ‘गैरन्यायिक हत्या’ को श्रेणीमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अमेरिकाले भने भेनेजुएलालाई ‘लागुऔषध गिरोह सञ्चालित राज्य’ को रूपमा चित्रित गर्दै आएको छ ।
