वायु सेवा कम्पनीले भारतमा १,२०० बढी उडान रद्द : विमानस्थलहरू अस्तव्यस्त

काठमाडौँ, मंसिर १८ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी ‘इन्डिगो’ ले पछिल्ला केही दिनयता १,२०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतभरको हवाई यातायात अस्तव्यस्त बनेको छ । ठूलो सङ्ख्यामा उडानहरू रद्द र ढिलाइ हुँदा विभिन्न विमानस्थलहरूमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । 

कम्पनीले उडानमा देखिएको यो ठूलो अवरोधलाई ‘अप्रत्याशित परिचालन चुनौती’ को संज्ञा दिएको छ । इन्डिगोका अनुसार यो समस्या सिर्जना हुनुमा मुख्यतया: प्राविधिक त्रुटि, प्रतिकूल मौसम र  नयाँ कर्मचारी नियमावलीलाई कारण देखाएको छ । 

गत साता एयरबसले विश्वभरका ६ हजार विमानमा तत्काल सफ्टवेयर/प्रविधि अपग्रेडका लागि ‘अलर्ट’ जारी गरेपछि इन्डिगोका करिब २०० विमानहरू प्रभावित भएका छन् । देशका विभिन्न भागमा देखिएको खराब मौसमले उडान तालिकामा असर पारेको छ । उडान सुरक्षा अभिवृद्धि गर्न चालक र चालक दलका सदस्यहरूलाई बढी आराम दिने उद्देश्यले गत महिनादेखि लागू गरिएको नयाँ ‘क्रू रोस्टरिङ’ नियमले जनशक्ति व्यवस्थापनमा चुनौती थपेको छ ।

उडान व्यवस्थापनमा गम्भीर लापरबाही देखिएपछि भारतको उड्डयन निगरानी निकायले घटनाको तत्काल छानबिन गर्न आदेश दिएको छ । नियामक निकायले सोमबारदेखि जारी यो अवरोधलाई कम गर्ने स्पष्ट योजनासहित प्रतिक्रिया दिन इन्डिगोलाई कडा निर्देशन दिएको छ ।

बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले सामाजिक सञ्जालमार्फत एयरलाइन्सप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा यात्रुहरूले उडानका लागि ८ घण्टासम्म कुर्नुपरेको, विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ भएको र सहयोगका लागि कुनै पनि कर्मचारी उपलब्ध नभएको गुनासो गरेका छन् ।

कम्पनीका अनुसार बुधबारसम्म मात्रै १,२३२ उडान रद्द भइसकेका छन् । यद्यपि, कति उडानहरू ढिलाइ भए भन्ने यकिन तथ्याङ्क सार्वजनिक गरिएको छैन । इन्डिगोले असुविधाप्रति माफी माग्दै प्रभावित ग्राहकहरूलाई वैकल्पिक उडानको व्यवस्था वा टिकटको रकम फिर्ता (रिफन्ड) गरिरहेको जनाएको छ ।

समय पालना र किफायती सेवाका लागि प्रतिष्ठा कमाएको इन्डिगोका लागि यो घटना ठूलो व्यावसायिक धक्का हो । एक दिनमा करिब पाँच लाख यात्रुलाई सेवा दिने भारत विश्वकै तीव्र गतिमा विस्तार भइरहेको उड्डयन बजारमध्ये एक हो । जहाँ, इन्डिगोको बजार हिस्सा सबैभन्दा ठूलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *