युक्रेन युद्धपछि पहिलो पटक पुटिन भारत भ्रमणमा : रक्षा, व्यापार र आणविक ऊर्जामा महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा
काठमाडौँ, मंसिर १८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि आज मस्कोबाट भारततर्फ प्रस्थान गर्नुभएको छ । सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणले विश्वव्यापी भू-राजनीतिमा विशेष महत्त्व राख्ने ठानिएको छ ।
रुसी समाचार संस्था तासका अनुसार, यस भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने तयारी गरिएको छ । साथै, दुई देशका व्यापारिक तथा गैर-व्यावसायिक निकायहरू बिच थुप्रै समझदारी पत्रमा हस्ताक्षर हुनेछन् ।
उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नुभएका पुटिनले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा मानवीय सहयोगका क्षेत्रमा विस्तृत छलफल गर्नुहुनेछ। भ्रमणको क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका मुद्दाहरूमा पनि गम्भीर विमर्श हुने जनाइएको छ ।
भ्रमण कार्यतालिका
राष्ट्रपति पुटिन आज साँझ नयाँदिल्ली अवतरण गर्नुहुनेछ । उहाँ सिधै २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । आजै राति प्रधानमन्त्री मोदीले पुटिनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्नुभएको छ ।
भोलि (शुक्रबार, ५ डिसेम्बर) राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा ‘त्रिसेवा गार्ड अफ अनर’ प्रदान गरिनेछ । त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । लगत्तै हैदरावाद हाउसमा दुई नेताबीच ‘वान-अन-वान’ वार्ता र प्रतिनिधिमण्डल सहितको द्विपक्षीय छलफल हुनेछ ।
रक्षा सहकार्य: एस–४०० र एसयु–५७ माथि छलफल
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभका अनुसार, भ्रमणको एक प्रमुख आकर्षण रक्षा सहकार्य हुनेछ । लामो दूरीको एन्टी-एयरक्राफ्ट मिसाइल सिस्टम ‘एस–४००’ को अतिरिक्त आपूर्ति सम्बन्धी सम्झौता एजेन्डामा छ । रुसले भारतलाई आफ्नो अत्याधुनिक पाचौँ पुस्ताको ‘स्टिल्थ’ लडाकू विमान ‘एसयु–५७’ प्रदान गर्ने सम्भावना बारे छलफल गर्नेछ। प्रवक्ता पेसकोभले भन्नुभयो, “एसयु–५७ विश्वकै उत्कृष्ट विमान हो र भारतीय सेनामा रुसी हतियारको हिस्सा ३६ प्रतिशत रहेकाले यो सहकार्य अझ विस्तार हुने अपेक्षा छ ।”
हतियार खरिद-बिक्री मात्र नभई ‘ब्रह्मोस’ मिसाइल परियोजना जस्तै उच्च प्रविधि आदानप्रदान र संयुक्त उत्पादनमा जोड दिइनेछ।
आर्थिक तथा व्यापारिक लक्ष्य
भारत र रुसले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारको आकार एक खर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन् । सन् २०२४-२५ मा दुई देश बिचको व्यापार ६८ अर्ब ७० करोड डलर पुगिसकेको छ । यसपटकको भ्रमणमा आणविक ऊर्जा क्षेत्रमा नयाँ सम्झौता हुनसक्ने र कृषि, शिक्षा तथा ऊर्जा सुरक्षामा विशेष सहकार्य हुने अपेक्षा गरिएको छ ।
भ्रमणको कूटनीतिक महत्त्व
यो भ्रमणले सन् २००० मा स्थापित भारत-रुस रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवलाई समेत चिह्नित गरेको छ । सन् २०१० मा पुटिनकै भ्रमणका क्रममा यो सम्बन्धलाई ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरिएको थियो ।
रुसी प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभले यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ गहिरो बनाउने र वार्षिक शिखर सम्मेलनको परम्परालाई निरन्तरता दिने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभएको छ ।
जम्बो प्रतिनिधिमण्डल
राष्ट्रपति पुटिनसँग रक्षामन्त्री आन्द्रे बेलोसोभसहितको उच्चस्तरीय टोली भारत आउँदैछ । टोलीमा सङ्घीय भन्सार सेवा, रोस्कोसमोस (अन्तरिक्ष एजेन्सी), रोसाटम (आणविक ऊर्जा एजेन्सी) का प्रमुखहरू तथा रोजनेफ्ट, भिटिबी बैंक र रुसलजस्ता विशाल रुसी कम्पनीका प्रमुखहरूको सहभागिता रहनेछ ।
