नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट-२०८२” भव्यताका साथ सम्पन्न

भक्तपुर, १९ मंसिर। नेसनल प्याव्सन भक्तपुरको आयोजनामा भएको अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ मंसिर १५ गते सुरु भई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन भएको छ।

यस वर्षको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बन्यो भने ऋतम्भरा पाठशाला द्वितीय, ईडेन गार्डेन तृतीय र मदरल्याण्ड स्कुल सान्त्वना स्थानमा रहे। फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गर्यो। उत्कृष्ट खेलाडी यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का घोषित भए।

आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता, पाथिभरा एकेडेमी द्वितीय, मदरल्याण्ड स्कुल तृतीय र ऋतम्भरा पाठशाला सान्त्वना स्थानमा रहे। फेयर प्ले टिम जागृति विद्या सदनले प्राप्त गर्दा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले जिते भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जङ्ग थापा भए।

माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्यो। ऋतम्भरा पाठशाला द्वितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवै तृतीय स्थानमा रहे। भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गर्यो।

माध्यमिक तह छात्रा ब्याडमिन्टनमा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्वितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानाङ्ग तृतीय भए। माध्यमिक तहको छात्र ब्याडमिन्टनमा ऋतम्भराका आशिष लुईटेल प्रथम, पाथिभरा एकेडेमीका कृष्टोफे थापामगर द्वितीय, ग्लीटर फ्यूचरका सोहित तामाङ्ग र आरक्षण नेसनल स्कुलका कसम कोइराला तृतीय स्थानमा रहे। ईडेन गार्डेनका दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राईले उदयमान खेलाडीको उपाधि जिते।

टेबुल टेनिसको माध्यमिक तहमा पनि ऋतम्भरा पाठशालाकै आशिष लुईटेल विजेता बने। उपविजेता मदरल्याण्ड स्कुलका रविन भट्ट र तृतीय स्थान यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले प्राप्त गरे। उदयमान खेलाडीको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जिते।

नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकुद मेला संयोजक अनिश राईले खेलाडीहरूको उत्साहजनक सहभागितामा “स्पोर्ट्स ईभेन्ट-२०८२” सम्पन्न भएकोमा खुसी व्यक्त गरे। नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्नुका साथै भविष्यमा राष्ट्रका लागि उत्कृष्ट खेलाडी तयार पार्न सक्ने विश्वास व्यक्त गर्दै विजेता, सहभागी विद्यालय र सहयोगी सबैलाई धन्यवाद दिए।