कारागारबाट छुटेपछि फेरि पूर्वप्रहरीकाे हत्या अभियाेगमा बुद्धिराम दराई पक्राउ

काठमाडौं, १९ मंसिर । व्यक्ति हत्यामा दोषी ठहर भएर कारागारबाट छुटेका बुद्धिराम दराईले फेरि अर्को हत्या गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या आरोपमा पक्राउ गरेको हाे।

सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, गत चैत ३१, २०८१ मा लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेको एक घरबाट दुर्गन्ध आएको खबर पाएपछि प्रहरीले बाहिरबाट ताला लागेको ढोका फोडेर हेर्दा भित्र महिलाको शव फेला पारेको थियो। बक्स पलङमुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव भेटिएको थियो।

घटनाको अनुसन्धानका लागि सीआईबीको टोली परिचालन भएपछि हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो। करिब ८ महिनादेखि फरार रहेका बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाएको छ।

अनुसन्धानका क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको खुलेको छ। उनले गोरखाको साविक फिनाम गाविस–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको उनकी छोरी सम्झना पाण्डेसँग विवाहको विषयमा विवाद हुँदा हत्या गरेका थिए। सोही घटनामा उनी भीमफेदी कारागारमा चलान भएका थिए। कारागारमा रहँदा त्यहाँ सुरक्षामा खटिएकी हवल्दार (हाल मृत) सीता कँडेलसँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो। जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाशप्राप्त पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले जनाएको छ।