मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ, १९ मङ्सिर । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु चार अर्ब ४१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। बाढीपहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै यहाँको भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको हो।

मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार, यहाँस्थित नेपाल–चीन मुस्ताङ भन्सार कार्यालयमार्फत रु नौ अर्ब ४८ करोड ३४ लाख बराबरको आर्थिक कारोबार भएको छ। गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट बिहीबारसम्ममा चीनतर्फबाट रु नौ अर्ब ३४ करोडभन्दा बढीको मालसामान आयात भएको सूचना अधिकारी सिंहले बताउनुभयो। उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारबाट जाँचपास भई आएका विद्युतीय सवारीसाधन र मालबस्तु कन्टेनर ढुवानीका साधन भित्रिएका छन् र तीनको यहाँको भन्सारमा जाँचपास गरेर गन्तव्यतर्फ पठाइने गरिएको छ।

यसैगरी नेपालबाट हस्तकलालगायतका मालवस्तुको चीनतर्फ निर्यात प्रयोजनका लागि भन्सार जाँचपास गर्दा रु १४ करोड ३४ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि गएको साढे दुई महिनाको अवधिमा यहाँको भन्सार कार्यालयमा एक हजार ७६१ वटा विद्युतीय सवारीसाधनको जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। हालसम्म एक हजारभन्दा बढी ढुवानीका साधनको भन्सार जाँचपास भइसकेको छ।

मुस्ताङ भन्सार कार्यालयमा अझै १०० भन्दा बढी मालबाहक ढुवानीका साधन भन्सार जाँचपासको क्रममा रहेको सूचना अधिकारी सिंहले बताउनुभयो। उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारमा मालसामान ढुवानीका लागि करिब एक दर्जनभन्दा बढी ढुवानीका साधन पुगेका र आंशिक रूपमा कोरला सडक हुँदै ढुवानीका साधन माथि आउने क्रममा रहेका छन्।

यहाँको भन्सार कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको जनाइएको छ। यसअघि एक जना शाखा अधिकृत कार्यालय प्रमुख रहनेगरी सात जना दरबन्दी कायम रहेकामा उपसचिवस्तरको कार्यालय प्रमुख रहनेगरी १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो।

भन्सार विभागले यहाँको भन्सारका लागि उपसचिवस्तरको एक जना कार्यालय प्रमुखसहित दुई जना शाखा अधिकृत, छ जना राजस्व हेर्ने नायब सुब्बा, एक-एक जना लेखपाल र कम्प्युटर अपरेटर, एक जना सवारी चालक र छ जना कार्यालय सहयोगीको दरबन्दी सृजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *