लिखत सम्बन्धी र लागुऔषध सम्बन्धी कसुर

‘टिओबी’का तेन्जीन दावा लामालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ, मंसिर २३ । काठमाडौँ जिल्ला अदालतले ‘तिब्बतियन ओरिजिनल ब्लड’ (टिओबी) का तेन्जीन दावा लामालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामाविरुद्ध लगाइएका दुईवटै कसुरमा सुनुवाइ गर्दै उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनीविरुद्ध लिखत सम्बन्धी र लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, लामासँग लिखत सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ र लागुऔषध सम्बन्धी कसुरमा २० हजार रुपियाँ गरी कुल ५ लाख २० हजार रुपियाँ धरौटी माग गरिएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा एक भिडिओ सार्वजनिक भएपछि विवादमा आएका लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरुमा उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालिएको थियो । तर, अनुसन्धानका क्रममा उनको नागरिकतामा कैफियत देखिएपछि प्रहरीले लिखत (नागरिकता) सम्बन्धी कसुरमा समेत छानबिन अघि बढाएको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको थुनछेक बहसपछि अदालतले मंगलबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।