सुनसरीमा एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद
सुनसरी, ७ असोज । इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार प्रहरी चौकी तरहराबाट खटिएको टोलीले गएराति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा २च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गर्दा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिए।
बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ। फरार एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
