बाढी–पहिरोको जोखिमका कारण बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासङ्घले सबैलाई आग्रह गरेको छ। बिहीबारदेखि रातिको समयमा पनि यात्रा नगर्न समेत महासङ्घले आह्वान गरेको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ। सोहीअनुसार यातायात सञ्चालन गर्न महासङ्घले आफ्ना सदस्यलाई सचेत गराएको छ।
यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै सरकारले सबैलाई सचेत हुन भनेको छ।
