मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन तीव्र, तापक्रम वृद्धिको असर
मुस्ताङ, २४ मङ्सिर । उच्च हिमाली जिल्ला मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसानहरू यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा सक्रियताका साथ जुटेका छन्। गुणस्तरीय स्याउ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले बगैँचा व्यवस्थापनलाई अनिवार्य मानिएपछि किसानहरूले चाँडै काम सुरु गरेका हुन्।
सामान्यतया पुस र माघमा गरिने स्याउ बगैँचा व्यवस्थापन यस वर्ष विगतका वर्षभन्दा चाँडै सुरु भएको छ। भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्ट हार्भेस्ट’ (बाली उत्पादनदेखि उपभोगसम्मका क्रियाकलाप) सकिएसँगै स्याउका बोटका पातहरू झरेर उजाड बनिसकेका छन्। यस वर्ष जमिनको तापक्रम अपेक्षित रूपमा नघटेकाले स्याउका पात छिटो सुकेको किसानहरू बताउँछन्। घरपझोङका किसान दिवश थापाका अनुसार, पात झरिसकेकाले यस वर्ष बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको छ।
“बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकता स्याउका बोटको उपयुक्त काँटछाँट गर्नु हो,” किसान थापाले भने, “प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ। अनावश्यक हाँगाबिगाले स्याउको गुणस्तर र उत्पादनमा ह्रास ल्याउन सक्छ।” जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्टपछि पात छिटो झरेर बोटहरू पतझड जस्तै बनेको उनको भनाइ छ।
हिउँदयाममा किसानलाई बोट काँटछाँट गर्नु, मलजल तथा सिँचाइको व्यवस्था गर्नु, रोगकिराको सङ्क्रमणबाट जोगाउन ‘बोरोपेस्ट’ र ‘बोरोमिक्चर’ छर्किनु लगायतका कामले भ्याइनभ्याइ हुन्छ। उचित व्यवस्थापन नगरे अपेक्षा गरेअनुरूप गुणस्तरीय उत्पादन नदिने थापाको भनाइ छ।
स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिन्छ। बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुत बनाउने, भित्री तहसम्म सिँचाइ पुर्याउने र रोगकिराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्याउने थापाले बताए। पछिल्लो समय अनुकूल मौसममा हिउँ नपर्दा प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको उनको गुनासो छ।