एनपिएलमा सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य

काठमाडौँ, २७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिमको प्रदर्शन निकै कमजोर रह्यो। सुदूरपश्चिमका ब्याटरहरू लुम्बिनीको धारिलो बलिङसामु टिक्न सकेनन् र १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिए।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। ५१ बल सामना गरेका उनले एक चौका प्रहार गरे। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन तथा हरमीत सिंह र स्कट कुगेलिइनले समान १०–१० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए। त्यस्तै, टीका भण्डारीले १ विकेट हात पारे। अहिले लुम्बिनी लायन्स ८६ रनको सहज लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *