समूह चरणका सबै खेलमा नेपाल पराजित, ब्याटिङमा लज्जास्पद प्रदर्शन
काठमाडौँ, पुस ३ । एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक रहेको छ । समूह ‘बी’ मा रहेको नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदै जितविहीन भएर प्रतियोगिताबाट बाहिरिएको हो । आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान समूह ‘बी’ मा रहेका थिए। नेपालले तीनवटै खेलमा फितलो ब्याटिङ प्रदर्शन गर्दा कुनै पनि खेलमा जित निकाल्न सकेन ।
डिसेम्बर १३ मा भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपालले ८२ रनको सामान्य योगफल मात्र तयार गर्न सक्यो । जवाफमा श्रीलङ्काले उक्त लक्ष्य १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन। बङ्गलादेशसँगको खेलमा नेपाल १३० रनमा समेटियो। उक्त लक्ष्य बङ्गलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दा नेपाल ७ विकेटले पराजित भयो ।
अन्तिम खेलमा पनि नेपाली युवा टोलीको प्रदर्शनमा सुधार आउन सकेन । अफगानिस्तानसँगको खेलमा पहिला ब्याटिङ गरेको नेपाल १२४ रनमै सीमित भयो। अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । तीनवटै खेलमा नेपाली ब्याटरहरूले प्रतिस्पर्धी लक्ष्य खडा गर्न नसक्दा टोलीले लज्जास्पद हार ब्यहोर्नुपर्यो ।
सेमिफाइनल समीकरण पूरा
समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । नेपालको समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् भने समूह ‘ए’ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
अब सेमिफाइनलमा भारतले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ भने बङ्गलादेशले पाकिस्तानको सामना गर्नेछ ।