रोल्पामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी श्रीमान पक्राउ

रोल्पा, ६ पुस । रोल्पामा मदिरा सेवन गरी आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाइलाई प्रहरीले ५२ वर्षीया श्रीमती रिमा परियारको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार शनिबार बेलुका करिब ६ बजेतिर मदिराले मातेका अमराजले श्रीमती रिमालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट रिमा गम्भीर घाइते भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घाइते रिमाको उद्धार गरी तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्‍याएको थियो । स्वास्थ्य केन्द्रमा चिकित्सकहरूले परीक्षण गर्ने क्रममा बेलुका पौने ७ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा अमराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।