मुस्ताङमा हिउँ चितुवाको पहिलो विस्तृत सर्वेक्षण: सङ्ख्या यकिन गर्न १६१ ग्रीडमा क्यामेरा जडान

मुस्ताङ, ७ पुस । हिमाली जिल्ला मुस्ताङमा हिउँ चितुवाको यकिन सङ्ख्या पत्ता लगाउन पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले शनिबारदेखि क्यामेरा ट्रयापिङ प्रविधिमार्फत जिल्लाका चार स्थानीय तहमा सर्वेक्षण थालेको हो । यसअघि पनि हिउँ चितुवाको बासस्थान र गतिविधिका बारेमा अध्ययन हुने गरे पनि यकिन सङ्ख्या गणना गर्ने गरी विस्तृत सर्वेक्षण गरिएको यो पहिलोपटक हो ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार सर्वेक्षणका लागि ५–५ किलोमिटरको दूरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीड (Grid) निर्धारण गरिएको छ । हालसम्म तल्लो मुस्ताङमा १६ वटा र माथिल्लो मुस्ताङमा ९९ वटा गरी कुल १११ वटा क्यामेराहरू एकैसाथ प्रयोग गरेर अध्ययन अगाडि बढाइएको छ ।
वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा बायोकोस नेपाल र एक्यापको सहकार्यमा यसअघि नै १६ वटा क्यामेरा राखिसकिएको छ ।

विज्ञहरूका अनुसार हिउँदयाममा उच्च हिमाली भेगमा भारी हिमपात हुने भएकाले हिउँ चितुवाका आहारा प्रजातिहरू (नाउर, झारल आदि) तल्लो भेगमा झर्ने गर्छन् । आहाराको खोजीमा हिउँ चितुवा पनि तल झर्ने हुँदा यो समय क्यामेरा ट्रयापिङका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

सर्वेक्षणका लागि एक्यापले तीन वटा ब्लकमा जनशक्ति विभाजन गरेको छ । प्राविधिक र स्थानीय गरी करिब एक दर्जनभन्दा बढी व्यक्तिहरू फिल्डमा खटिएका छन् । यी क्यामेराहरू वैशाख महिनासम्म फिल्डमै रहनेछन् र त्यसपछि खिचिएका तस्बिरहरूको विश्लेषण गरी हिउँ चितुवाको कुल सङ्ख्या सार्वजनिक गरिने एक्यापले जनाएको छ ।