अमेरिकामा चम्किए नेपाली प्रतिभा: गायनमा आर्या र नृत्यमा खुसी विजयी

काठमाडौँ, ७ पुस । अमेरिकाका विभिन्न सात सहरमा बसोबास गर्ने नेपाली मूलका किशोर–किशोरीहरूबीच सम्पन्न गायन र नृत्य प्रतियोगितामा आर्या खनाल र खुसी अधिकारीले बाजी मारेका छन् ।

‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा ओहायोको एक्रोनमा डिसेम्बर २० र २१ मा आयोजित प्रतिस्पर्धामा उनीहरू विजयी भएका हुन् ।

गायनतर्फ कोलम्बसकी १३ वर्षीया आर्या खनाल प्रथम भइन् भने नृत्यतर्फ कोलम्बसकै १३ वर्षीया खुसी अधिकारीले स्वर्ण पदक जितेकी छिन् ।

गायन विधामा सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो र कोलम्बसकी कुञ्जन सुवेदी तेस्रो भए । त्यस्तै, नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो र ह्यारिसवर्गकी सामन्था क्षेत्री तेस्रो हुन सफल भइन् । सामूहिक नृत्यतर्फ पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम, ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भयो ।

विजेताहरूले आकर्षक नगद पुरस्कार प्राप्त गरेका छन् । एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले ३ हजार अमेरिकी डलर, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका चर्चित कलाकारहरू सहभागी थिए । गायनतर्फ अञ्जु पन्त, सुजता वर्मा र अर्जुन रसाइली निर्णायक थिए भने नृत्यतर्फ दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र आरती शर्माले प्रतिभाहरूको मूल्याङ्कन गरेका थिए ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकामै जन्मे–हुर्केका नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग जोड्नु चुनौतीपूर्ण तर अपरिहार्य रहेको बताउनुभयो । भुटानबाट विस्थापित हुँदा पनि नेपाली संस्कृति नजोगिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आफ्नो पहिचानमा गर्व गर्दै जीवन जिउन सिकाउनु हाम्रो मुख्य लक्ष्य हो ।”

हाल फाउण्डेसनले अमेरिकाका सात सहरहरूमा नेपाली नृत्य र सङ्गीतका कक्षाहरू सञ्चालन गरिरहेको छ, जहाँ १ हजार ३०० भन्दा बढी नेपाली मूलका बालबालिकाहरूले शिक्षा लिइरहेका छन् । ओहायोका कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाका ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरूले यस प्रतियोगितामा भाग लिएका थिए ।