रैथाने बाली जोगाउन कोशीका हरेक स्थानीय तहमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गर्न जोड

मोरङ, १० पुस । कोशी प्रदेशका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ बैंक स्थापना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । रैथाने तथा स्थानीय जातका बीउबिजनको संरक्षण र संवर्द्धनका लागि हरेक पालिकामा यस्तो संयन्त्र आवश्यक रहेको उनीहरूको निष्कर्ष छ ।

बुधबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशमा सामुदायिक बीउ बैंक : वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो माग राखेका हुन् । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखरा र कृषि विकास निर्देशनालय कोशी प्रदेशको समन्वयमा सामुदायिक बीउ बैंक सङ्घ नेपालले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले रैथाने बीउ जोगाउन सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनबाट बनेका परिकारलाई विद्यालय र सरकारी कार्यालयका खाजामा अनिवार्य गरी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक बीउ बैंक सङ्घ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले बीउ बैंकलाई वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण र कृषि अनुसन्धानको बलियो आधार मानिने बताउनुभयो । उहाँले रैथाने बाली जोगाउन तीनै तहका सरकारबीच साझा प्रयास र समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, सङ्घका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीउ संरक्षणको विषयलाई मूलप्रवाहीकरण गर्न र हरेक जिल्लामा यसको विस्तार गर्न मार्ग पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो ।