हुम्लाको सर्केगाडमा भिषण आगलागी : दुई जना घाइते, पाँच घरमा क्षति
हुम्ला, ११ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–२ स्थित रिप गाउँमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् भने पाँचवटा घरमा क्षति पुगेको छ । स्थानीय लैबा फडेराको घरबाट अचानक सुरु भएको आगोले छिमेकीका घरहरूमा समेत क्षति पुर्याएको हो ।
आगलागीमा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेरा घाइते भएका छन् । उनीहरूलाई राति नै एम्बुलेन्स मार्फत थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट पुर्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । मध्यरातमा सुरु भएको आगोले घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य धनमाल नष्ट गरेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो । क्षतिको पूर्ण विवरण भने सङ्कलन भइरहेको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।
अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । हिउँदको समय र हावा चल्ने मौसम भएकाले हिमाली भेगका बस्तीहरूमा आगलागीको जोखिम बढ्ने गरेको छ ।