काठमाडौँको बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ, १४ पुस । काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ, लेटाङ नगरपालिका–४ बस्ने २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट सिएफ ९८–९००००३३०८२३७ र सिएफ ९८–९०००१११०८२३६ नम्बरको सिएफ–९८ पेस्तोल, उक्त पेस्तोलको म्यागजिन तीन थान, गोली दुई थान तथा गोलीको खोका दुई थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *