कर्णालीका तीन जिल्लामा टेलिकमको सञ्जाल विस्तार: जुम्ला, कालीकोट र मुगुमा ८६ टावर सञ्चालन

जुम्ला, १५ पुस । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम बस्तीहरूमा सञ्चार पहुँच पुर्‍याउने उद्देश्यले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ । टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पर्ने जुम्ला, कालीकोट र मुगु जिल्लामा हालसम्म ८६ वटा टावरहरू विस्तार गरिएको छ ।

टावरको वितरण: जुम्ला शाखाको कार्यक्षेत्र अन्तर्गत जुम्लामा ४५, कालीकोटमा २२ र मुगुमा १९ गरी कुल ८६ वटा टावरहरू सञ्चालनमा आएका छन् ।

लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित जुम्लाको हिमा गाउँपालिकामा सोमबारदेखि नयाँ टावर सुचारु भएको छ । यससँगै त्यहाँका स्थानीयले टेलिफोन र फोरजी (4G) इन्टरनेट सेवा प्राप्त गर्न थालेका छन् ।

हाल जुम्लाको सदरमुकाम खलङ्गामा मात्र सीमित रहेको फाइबर इन्टरनेट सेवा अब जिल्लाका आठवटै स्थानीय तहमा पुर्‍याउने गरी काम भइरहेको छ ।

नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ७९ मध्ये ३७ वटा स्थानीय तहमा सञ्चार सेवाको पहुँच विस्तार भइसकेको छ ।

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराका अनुसार ग्रामीण क्षेत्रमा नेटवर्क सुदृढीकरण गर्ने योजना अन्तर्गत यी पूर्वाधारहरू निर्माण गरिएका हुन् । दुर्गम क्षेत्रमा सञ्चार सेवा पुगेसँगै स्थानीय प्रशासन र नागरिकहरूलाई सूचना आदानप्रदानमा ठूलो राहत मिलेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।