काठमाडौँको तापक्रम यो वर्षकै न्यून विन्दुमा: जुम्लाको पारो माइनस ४.५ डिग्रीमा झर्यो

काठमाडौँ, १५ पुस । देशभर चिसोको प्रकोप बढ्दै जाँदा सङ्घीय राजधानी काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रेकर्ड भएको छ।

यसअघि गत पुस ८ गते काठमाडौँको तापक्रम ४.९ डिग्री मापन गरिएको थियो। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराई क्षेत्रमा बाक्लो हुस्सु, कुहिरो र शीतलहर कायम रहनुका साथै हिमाली क्षेत्रमा हिमपात भइरहेकाले चिसो अझै बढ्ने अनुमान छ। मंगलबार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस पुगेको छ, जसले गर्दा त्यहाँको जनजीवन निकै प्रभावित भएको छ।

विभागले आज राति सार्वजनिक गरेको बुलेटिनअनुसार पुस १६ गते (बुधबार) पनि तराईका अधिकांश भू–भागमा बाक्लो कुहिरो लाग्नेछ। कर्णाली र सुदूरपश्चिम लगायत पहाडी भेगमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हुस्सु र कुहिरोका कारण तराईमा सडक तथा हवाई यातायातमा आंशिक अवरोध पुग्न सक्ने र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *