महाधिवेशनको विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै: देउवा र महामन्त्रीद्वयबीच शक्ति सङ्घर्ष चुलियो

काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

१५औँ महाधिवेशनको कार्यतालिका र मोडालिटीलाई लिएर पार्टीभित्र तीव्र विवाद भइरहेका बेला बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

पार्टीले आगामी पुस २६ गतेका लागि तय गरेको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै सन्दर्भमा बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एक संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र ‘विशेष महाधिवेशन’ आह्वान गरिएको घोषणा गरेपछि पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले आगामी पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन् । यता, सभापति शेरबहादुर देउवाले भने आगामी प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्र घात–प्रतिघात बढ्ने भन्दै अहिले महाधिवेशन नगर्ने अडान राख्नुभएको छ ।

संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन बोलाउने अधिकार महामन्त्रीहरूलाई नभई केन्द्रीय समितिलाई मात्र हुने तर्क गर्दै आएका छन् ।

पार्टीभित्रको यो शक्ति सङ्घर्ष र महाधिवेशनको वैधानिकताका विषयमा आजको कार्यसम्पादन समिति बैठकमा चर्काचर्की हुने सम्भावना छ । बैठकले महाधिवेशनको नयाँ मिति वा विशेष महाधिवेशनको प्रस्तावमाथि ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।