तराईमा कुहिरोको सास्ती, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ, १८ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई क्षेत्र कुहिरोले ढाकिने र पहाडी भेगमा बदली हुनेछ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम भई सडक तथा हवाई यातायात, जनस्वास्थ्य र दैनिक जनजीवनमा आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले चेतावनी दिएको छ । चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।