अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि संस्कृति मन्त्रालयद्वारा आवेदन आह्वान
काठमाडौँ, पुस १९ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकका विभिन्न भागमा रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूचीकरण प्रक्रिया अगाडि बढाउन सार्वजनिक आह्वान गरेको छ । मन्त्रालयले इच्छुक व्यक्ति, समुदाय वा संघ–संस्थालाई आगामी चैत १५ गतेभित्र सूचीकरणका लागि आवेदन पेस गर्न सूचित गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार, अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शनमा उल्लेखित मापदण्डका आधारमा आवेदन दिनुपर्नेछ । उक्त दिग्दर्शन र आवेदनका लागि आवश्यक फारम मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको जानकारी दिइएको छ ।
यस प्रक्रियाका बारेमा थप स्पष्ट पार्दै मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले सूचीकरणका लागि सात प्रकारका प्रमाणित कागजातहरू संलग्न हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार आवेदनका साथमा सम्पदाको विस्तृत विवरण, सम्बन्धित समुदाय वा समूहको लिखित सहमति, सम्पदा झल्काउने तस्बिर तथा श्रव्य-दृश्य (भिडियो), र उक्त सम्पदाको पुस्तान्तरण सम्बन्धी ऐतिहासिक विवरण पेस गर्नुपर्नेछ ।
यसैगरी, सम्बन्धित स्थानीय तहको सिफारिस र यदि स्थानीय तहमा सूचीकरण भइसकेको भए सोको प्रमाण समेत अनिवार्य गरिएको छ ।
मन्त्रालयले सम्पदा संरक्षणको यसै अभियानअन्तर्गत गत वर्ष ललितपुरको मौलिक एवं परम्परागत खाद्य परिकार ‘योमरी’लाई अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरेको थियो । यस वर्ष पनि मौलिक परम्परा, भाषा, कला, कौशल र संस्कृतिलाई राष्ट्रियस्तरमा सूचीकृत गरी संरक्षण गर्ने उद्देश्यले यो प्रक्रिया थालिएको हो ।
