प्रतिनिधिसभा निर्वाचन: ८८ जना मुख्य निर्वाचन अधिकृत नियुक्त, ३६ न्यायाधीश ‘जगेडा’ मा

काठमाडौँ, २१ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रशासनिक तयारीलाई तीव्र पारेको छ । यसै क्रममा आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृतसहित ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी निर्वाचन अधिकृतका रूपमा तोकेको हो ।

प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा आयोगले सोमबार कुल ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । तीमध्ये ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त अधिकृतहरूको पदावधि यही पुस २५ गतेदेखि लागू हुने आयोगले जनाएको छ । आयोगका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । सोही मितिदेखि सम्बन्धित क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्न समेत आयोगले आग्रह गरेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक प्रणालीमार्फत ११० जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।