सर्वोच्चको सक्रियता: आगजनीमा जलेका १० हजार बढी मुद्दाका मिसिल पुनः तयार
काठमाडौँ, २२ पुस । सर्वोच्च अदालतले आगलागीबाट नष्ट भएका मुद्दाका मिसिलहरू पुनः निर्माण गर्ने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ । गत भदौमा भएको आगजनीका कारण जलेका २० हजार मुद्दामध्ये हालसम्म १० हजार ३४० थान मुद्दाको मिसिल पुनः तयार पारिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार पुस २१ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न निकाय र पक्षहरूको सहयोगमा यी मिसिलहरू सङ्कलन गरिएको हो । सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालय र सम्बन्धित पक्षहरूबाट प्राप्त कागजातका आधारमा मिसिल तयार पार्ने काम भइरहेको छ ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । उक्त घटनामा अदालतमा रहेका कुल २४ हजार मुद्दामध्ये झण्डै २० हजार मिसिल जलेर नष्ट भएका थिए । आगलागीबाट जम्मा चार हजार थान मिसिल मात्र सुरक्षित रहन सफल भएका थिए, जसका कारण न्याय सम्पादन प्रक्रियामा ठूलो अवरोध सिर्जना भएको थियो ।
नष्ट भएका महत्वपूर्ण कागजात र प्रमाणहरू जुटाउन सर्वोच्च अदालतले विशेष पहल सुरु गरेको थियो । यसका लागि अदालतले महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन र मुद्दाका सम्बन्धित पक्षहरूसँग प्रमाणका प्रतिलिपिहरू उपलब्ध गराउन आग्रह गरेको थियो ।
सोही समन्वयका आधारमा हालसम्म १० हजारभन्दा बढी मुद्दाको रेकर्ड पुनः तयार भइसकेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । बाँकी रहेका मिसिलहरू पनि प्राथमिकताका साथ सङ्कलन र पुनर्निर्माण गर्ने कार्य जारी रहेको अदालतले जनाएको छ । यस कार्यले अदालतमा थन्किएका र रोकिएका मुद्दाको सुनुवाइ प्रक्रियालाई पुनः अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।